काठमाडौँ, ३० जेठ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै पक्षले एक अर्कालाई गरेको कारबाही कानुनसम्मत नभएको ठहर गरेको छ । दुवै पक्षले निर्वाचन आयोगलाई दिएका निवेदनहरूको आधारमा फैसला गर्दै निर्वाचन आयोगले यस्तो निर्णय सुनाएको हो ।
जसपाका महन्त ठाकुर र उपेन्द्र यादव पक्षले एक अर्कालाई कारबाही गरेको पत्र निर्वाचन आयोगमा बुझाएको थिए । आयोगले दुवै पक्षलाई प्रमाणसहित आउन भनेको थियो । आज निर्वाचन आयोगले एकले अर्कोलाई गरेको कारबाहीलाई कानुनसम्मत नदेखिएको भन्दै दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको छ । साथै दुवै अध्यक्ष रहने गरी पुरानै पदाधिकारीहरू कायम रहने फैसलासमेत सुनाएको छ ।
निर्वाचन आयोगको फैसलामा भनिएको छ ‘एक जना अध्यक्षको हस्ताक्षरबाट राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिक गरिदिन भनी जनकारी गराएको विषयलाई कानुन र दलको विधानसम्मत मान्न मिलेन । पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरी अद्यावधिकका लागि अनुरोध भई आएकोमा माग बमोजिम अद्यावधिक गर्न मिलेन ।’
विभाजनको सङ्घारमा पुगेका दुवै पक्षलाई निर्वाचनको आयोगको यो निर्णयले अप्ठ्यारोमा पारिदिएको छ ।