बेलबारी, २८ जेठ । प्रहरीले बेलबारीबाट हतियार र लागुऔषध कारोबारमा संलग्न एउटा गिरोहलाई नै पक्राउ गर्न सफल भएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेनजिक बिहीबार बिहान भएको दुर्घटनामा परेको मोटरसाइकलमा लागुऔषध फेला परेपछि अनुसन्धान सुरु गरेको प्रहरीले उक्त गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले उक्त गिरोहलाई समात्न सफल भएको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–९ का ३५ वर्षीय चेवनकुमार धमला, २५ वर्षीय विशाल भनिने खेम भट्टराई र सुनवर्षी नगरपालिका–८ का ६० वर्षीय अब्बास मियाँ रहेका छन् ।
मोटरसाइकल दुर्घटनाश्चात धमला र भट्टराईले बोकेको झोला खानतलासी गर्दा लागु औषध आठ सय ९२ पिस नाइट्राभेट ट्याब्लेट र लगभग १४ ग्राम चरेस बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
प्रहरी प्रमुख एसपी खड्काका अनुसार लागुऔषधका पुराना कारोबारी रहेका सुनवर्षीस्थित मियाँको घरमा प्रहरीले खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा एउटा कटुवा पेस्तोल, दुई राउन्ड गोली, ६ सय ट्याब्लेट नाइट्राभेट र दुई बोतल डिसी नामक लागु औषध तथा एउटा चक्कु बरामद भएको छ । प्रहरीले पक्राउ परेकाहरुविरुद्ध लागु औषध र हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।