विराटनगर, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गर्नुभएको छ । संघीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उहाँले आग्रह गर्नुभएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताउनु भएको हो । उहाँले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्त्वपूर्ण रहेकाले संघीय सरकारलाई चाँडोभन्दा चाँडो प्रबन्ध गर्न आग्रह गर्नुभयो । मन्त्री राईले भन्नुभयो,‘ केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’ कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरूले बत्ताइरहेकाले आवश्यक तयारी गर्न आवश्यक देखिएको उहाँले बताउनुभयो । तेस्रो लहरको पनि पूर्व तयारी आवश्यक रहेकोमा मन्त्री राईको जोड छ ।
कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उहाँले बताउनुभयो । प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उहाँले बताउनुभयो । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराउनुभयो । मन्त्री राईले भन्नुभयो,‘ प्रत्येक जिल्ला अस्पतालहरूलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौँ ।’ सबै स्थानीय सरकारको बजेट केन्द्रीकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागि परेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘ एचडियू, आइसियु, भेन्टिलेटर, आवश्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ ।’विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उहाँले बताउनुभयो । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरू, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।