काठमाडौँ, २६ जेठ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर विक्री गरिएका पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरेर पुरानै नक्सा भएको पुस्तक छापेर विक्री गरेको गुनासो आएपछि मन्त्री श्रेष्ठले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् ।
पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बुधवार भएको ८८ औँ बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन पनि दिएका छन् ।
मन्त्री श्रेष्ठले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्न, यस्ता पुस्तक बजारमा बिक्री भएका पाइए जफत गर्न र त्यति गर्दा पनि मन्त्रालयको निर्देशन अटेर गरे कानुनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशनसमेत दिएका छन् ।
नयाँ चुच्चे नक्सासहितको पाठ्यपुस्तक वितरणमा रोक लगाएको सरकारमाथि आरोप लागिरहेको बेलामा विभागीय मन्त्रीबाटै आएको यस्तो निर्देशनलाई महत्त्वका साथ हेरिएको छ ।