सुरक्षा मापदण्ड अपनाएर सुन्दरहरैँचाका अत्यावश्यकीय व्यवसाय सञ्चालन गरिने


सुन्दरहरैँचा, २६ जेठ । सुन्दरहरैँचा नगरपालिकाले स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यकीय व्यवसाय सञ्चालन गर्ने भएको छ । मङ्गलवार नगरप्रमुख शिवप्रसाद ढकालको अध्यक्षतामा नगरपालिकामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।

अब खाद्यान्न पसल, खाना पकाउने ग्यासका पसल, तरकारी पसल आदि सामाजिक दुरी कायम गरेर बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न सकिने छ । साथै सर्वदलीय बैठकले पुस्तक पसल, सार्वजनिक निर्माणमा प्रयोग हुने डन्डी, छड आदिका पसल पनि खुल्न पाइने निर्णय गरेको छ । 

तर तोकिएको अवधिभन्दा बढी समय पसलहरू खोलेको पाइएमा प्रहरी प्रशासनले कारबाही गर्नेसमेत नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ । नगरपालिकाको यो निर्णयलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्