काठमाडौँ, २६ जेठ । सरकारले आसरदेखि निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरेको छ । गृह मन्त्रालयले देशैभरका निषेधाज्ञाको समीक्षा गर्ने क्रममा कोरोना संक्रमणदर केही घटिरहेकोले असारदेखि जनजीवन सहज बनाउने गरी तयारी थालेको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल महामारीको जानकारी र देशभरबाट रिपोर्ट लिने काम भइरहेको बताउँछन् । उनले भने ‘पहिलाको भन्दा अहिले जेठ ३१ गतेसम्म लागु गरिएको निषेधाज्ञा पनि केही खुकुलो बनाइएको छ ।
असारदेखिको जनजीवन सहज बनाउने गरी गृहकार्य थालेका छौँ ।’सरकारले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा लम्ब्याउने र हटाउने अधिकार दिएको छ ।
तर निषेधाज्ञा खुकुलो बनाइए कार्यक्रम, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, सपिङ मल, मनोरञ्जन स्थल खोल्न रोक लगाइने मत्रालयले जनाएको छ । साथै यस अवधिमा सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब, फुटसल, जिमखाना पुस्तकालय, म्युजियम, चिडियाखाना भने बन्द नै रहने छन् ।