भारतका बालबालिकामा कोरोनाविरुद्धको भाक्सिन खोपको परीक्षण सुरु


नयाँ दिल्ली, २५ जेठ । भारतमा बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सुरु भएको छ । राजधानी नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरुद्धको कोभाक्सिन खोपको क्लिनिकल परीक्षण सुरु गरेको हो ।


दुईदेखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने अधिकारीहरूले जनाएका छन् । ‘कोभाक्सिन खोप बालबालिकामा प्रयोगका लागि क्लिनिकल परीक्षण अभियान सुरु भएको छ,’ एम्सका एक अधिकारीले भने, ‘परीक्षणमा सहभागीहरूको रिपोर्ट प्राप्त भएपछि बालबालिकालाई यो खोप दिन उपयुक्त देखिएमा खोपलाई आमरुपमा प्रयोगमा ल्याइने छ ।’


भारतको औषधि नियामक संस्थाले गत महिना दुईदेखि १८ वर्ष उमेर समूहमा कोभाक्सिनको दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षण गर्न अनुमति प्रदान गरेको थियो । कोभ्याक्सिन बालबालिकाहरूका लागि उपयुक्त छ कि छैन भनेर हेर्न भारतको पूर्वी राज्य बिहारको पटनामा रहेको एम्स अस्पतालमा बालबालिकाहरूलाई यस अघि नै परीक्षण गरिएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्