बेलबारी, २४ जेठ । बेलबारीका स्थानीय युवाहरूले कोरोना सङ्क्रमितहरूका घरघरमा पुगेर सेनिटाईजर गर्ने, मास्क तथा सेनिटाइजर वितरण गर्ने काम गरिरहेका छन् ।
बेलबारी स्थायी बसोबास भई विभिन्न ठाउँमा अध्ययन गर्ने युवा विद्यार्थीहरूको अगुवाइमा केही दिनदेखि नगरपालिकाभित्रका सबै वडामा पुगेर सङ्क्रमितहरूलाई भेटेर स्वास्थ्य अवस्था बुझ्नुका साथै घरमा सेनिटाईजर गर्ने काम गरिरहेका छन् ।
बेलबारी नगरपालिकासँगको समन्वयमा सुरु भएको यो अभियानको तेस्रो दिनसम्ममा आइपुग्दा आफूहरूले १०० भन्दा बढी घरमा पुगेर सहयोग गरेको उक्त समूहको अगुवाइ गरिरहेकी शीतल रायले बताइन् । यो समूहमा युवा विद्यार्थीहरू शीतल राय, विप्लव पोख्रेल र अनिशा गिरी आदि रहेका छन् । सचेत नागरिकको हैसियतले आफूहरूले एकअर्कामा समस्या परेको बेला सरकारको मुख मात्र ताक्न हुन्न भन्ने सन्देश दिने उद्देश्यले यो काम गरेको उनीहरू बताउँछन् ।
उनीहरूले बेलबारी नगरभित्रका ११ वटै वडाका सङ्क्रमितका घरघरमा पुगेर सेवा दिने बताउँछन् । यस्तो महामारीमा आफ्नो स्वास्थ्यको प्रवाहै नगरी अरूको घरघरमा पुगेर सेवा दिने युवाहरूको कार्यलाई महत्त्वका साथ हेरिएको छ ।