पाकिस्तानमा दुई रेल एक आपसमा ठोक्किँदा ३० जनाको मृत्यु, ५० घाइते


काठमाडौँ, २४ जेठ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई रेल एक आपसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ ।

रेडियो पाकिस्तानका अनुसार सोमबार बिहानै डहरकी क्षेत्रको नजिकै सैयद एक्सप्रेस र मिल्लत एक्सप्रेसको रेल ठोक्किएर भयानक दुर्घटना भएको हो ।

यस दुर्घटनामा अन्य ५० व्यक्तिहरू घाइते भएको जानकारी दिइएको छ । रेलवे अधिकारीका अनुसार मिल्लत एक्सप्रेसको आठ र सैयदको तीन डिब्बा लिक बाहिर पुगेका छन् ।

रेलवे अधिकारीबिच सञ्चारमा समस्या हुँदा रेल दुर्घटना हुने गर्दछन् । यसअघि यस वर्षको मार्चमा कराचीदेखि लाहोर जाने रेल दुर्घटना हुँदा ३० घाइते भएका थिए । यस्तै गत वर्षको फेब्रुअरीमा सिन्ध प्रान्तमै पाकिस्तान एक्सप्रेस र एक बस आपसमा ठोक्किँदा २२ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा पाकिस्तानमै भएको रेल दुर्घटनामा ७४ जनाको मृत्यु भएको थियो । (बिबिसी)

 
प्रतिक्रिया दिनुहोस्