नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङको एकदिवसीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


शिक्षा ऐन चाँडै आउनु पर्नेमा जोड

बेलबारी २४ जेठ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मोरङले ‘समसामयिक शैक्षिक तथा शिक्षकका पेसागत सवालमा’ एक दिवसीय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय महासचिव हंसबहादुर शाही, लेखा समितिका सदस्य बलराम पोखरेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन १ नं प्रदेश अध्यक्ष बुद्धिमान कार्की, नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देल, नेपाल शिक्षक महासंघका इलामका अध्यक्ष प्रकाश खनाल लगायतका २५० सयजति शिक्षकहरूको सहभागिता रहेको थियो । 

कार्यक्रममा सहभागीहरूले सरकारले हालै सार्वजनिक गरेको बजेट, शिक्षण पेसा र स्वयम शिक्षकका विषयमा लामो समयदेखि उठ्ने गरेका सवालहरू तथा शिक्षा ऐनका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया भएको नेल्टा प्रदेश नं १ का सभापति एवम् नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति मोरङका सचिवालय सदस्य नरप्रसाद भण्डारीले जानकारी दिएका छन् । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले छलफलमा सहभागीहरूले उठाएका सवालहरू जायज रहेको, शिक्षा ऐन नआउँदा यी सवालहरू त्यतिकै निरुत्तरित भएको बताउँदै आफूहरू जतिसक्दो चाँडो यो ऐन आउनु पर्छ भन्नेमा रहेको बताए । 

साथै अध्यक्ष शर्माले खोप शिक्षकको प्राथमिकता, निजामती सरह मात्र नभएर शिक्षकले सोभन्दा बढी सेवा गरेको र सोही अनुसारको अधिकार स्थापित गर्ने कदम चालिने तर सङ्घर्ष चरणमा हुने, अरूले बाहिर हल्ला गरे पनि काम नेराशिसंका पहलमा भएका र भइरहेका, धेरै माग सम्बोधन हुने सम्झौता भए पनि शिक्षा ऐन नआएर रोकिँदा शिक्षकमाझ अन्योल देखिएको बताउँदै अरू सङ्घजस्तो नेराशिसं कुनै दल भातृ सङ्गठन नभएको कुरालाईसमेत प्रस्ट पारेका थिए । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङकोतर्फबाट जिल्ला अध्यक्ष प्रेमप्रसाद भट्टराईले समसामयिक शैक्षिक तथा शिक्षकको पेसागत सवालमा राष्ट्रिय शिक्षक सङ्गठनको धारणा विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।  

उक्त अवसरमा विश्वलाई नै आक्रान्त पारिरहेको कोभिड र त्यसबाट प्रभावित शिक्षकहरूको अवस्था, हालै सार्वजनिक भएको बजेट आदि विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राख्दै बजेटले शिक्षकहरूलाई उपेक्षा गरेको गुनासो गरेका थिए । जुमबाटै सञ्चालन गरिएको भए पनि कार्यक्रम उपलब्धिमूलक रहेको सहभागीहरूले बताए । 

प्रतिक्रिया दिनुहोस्