बेलबारीमा २४ घण्टाको अन्तरालमा श्रीमान् श्रीमतीको मृत्यु


बेलबारी, २२ जेठ । बेलबारीमा २४ घण्टाको अन्तरालमा श्रीमान् श्रीमतीले प्राण त्यागेका छन् । संयोग पनि कस्तो, श्रीमतीको मृत्यु भएको २४ घण्टा नबित्दै श्रीमानको पनि मृत्यु । पत्याउनै कठिन । तर त्यस्तै अपत्यारिलो घटना घटेको छ बेलबारी ११, भाङवारिमा । २४ घण्टाको अन्तरालमा पौडेल दम्पतीले प्राण त्याग गरेका छन् । 


लामो समयदेखि नशा सम्बन्धी रोगबाट पीडित बनेर थलिएकी श्रीमतीको मृत्यु भएको २४ घण्टा पनि नबित्दै दम रोगबाट पीडित श्रीमानले समेत शुक्रवार यो संसार छोडेका छन् । 


यो घटनाले परिवार, आफन्त र छिमेकीहरू शोकमा त परेका छन् नै यो घटनाले सबैलाई आश्चर्यचकित पारिदिएको छ । छिमेकीहरू हामीले कहिँ कतै यस्ता घटना सुनेको मात्र थियौँ तर आँखै अगाडी देख्न पायौँ भन्छन् । 


श्रीमतीको बिहीबार स्थानीय केशलिया घाटमा अन्त्येष्टि गरिएको छ भने शुक्रवार सोही घाटमा श्रीमानकोसमेत अन्त्येष्टि गरिएको छ । भनिन्छ जन्म,मृत्यु र विवाह जन्म अघि नै लेखिएको हुन्छ । अझ विवाह पछि त सँगै बाँच्ने र सँगै मर्ने कसम समेत खाइन्छ । तर बाँचुन्जेल सँगै भए पनि मृत्यु भनेचाहिँ फरक समयमा नै हुने गरेको छ । तर बेलबारीको यो घटनाले त्यसलाई पनि गलत सावित गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्