मन्त्रीको जिम्मेवारी सकिनासाथ ज्ञवालीले गरे सम्पत्ति विवरण सार्वजनिक


बेलबारी, २२ जेठ । मन्त्रीको जिम्मेवारी सकिनासाथ निवर्तमान परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । परराष्ट्र मन्त्रीको पद सकिनसाथ उनले शुक्रवार साँझ नै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 

उनले सामाजिक संजालमार्फत आफ्नो सम्पत्ति विवरण प्रस्तुत गर्दै यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा  प्रधानमन्त्री ओलीप्रति आभार व्यक्त गरेका छन् । उनले दायित्व सम्पादन गर्ने क्रममा सहयोग गर्ने सकैलाई धन्यवाद दिएका छन् । 

उनले ओली मन्त्रीमण्डलमा सवा तीन वर्ष क्याबिनेट मन्त्री भएर काम गरे । यस अवधिमा उनले आफ्नो तर्फबाट विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१।१३ सरकारी कोषमा दाखिला भएको जनाएका छन् । 

मन्त्री ज्ञवालीले आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप मन्त्रालयलाई फिर्ता गरेको र पुलचोकस्थित सरकारी निवास शनिवार नै छाड्ने जानकारी दिएका छन् । 

उनको यो कार्यलाई धेरैले प्रशंसा गरे पनि केहीले भने यसलाई ज्ञवालीको चुनावी स्टण्ट हो भनेका छन् । ज्ञवालीलाई पार्टीको काम गर्नु पर्ने भएकोले सरकारबाट बिदा दिइएको भनिए पनि जसपालाई अटाउनु पर्दा उनी लगायत धेरैको मन्त्री पद खोसिएको जानकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्