बेलबारी, २१ जेठ । मोरङ सुनसरी सेवा समाजबाट बेलबारी नगरपालिकालाई ५ वटा अक्सिजन सिलिण्डर प्राप्त भएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितहरूको उपचारमा सहयोग पुर्याउन र महामारीबाट नागरिकहरूको जीवन बचाउन मद्दत पुगोस् भन्ने हेतुले आइसोलेसनका लागि मोरङ सुनसरी सेवा समाजले नगरपालिकालाई ५ वटा अक्सिजन सिलिण्डर उपलब्ध गराएको हो ।
संस्थाका अध्यक्ष लोक बहादुर तामाङको अगुवाइमा रमेश खत्री सहितको टोलीले मोरङका विभिन्न पालिकाहरूलाई ७८ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।
संस्थाले बेलबारी नगरपालिकालाई हस्तान्तरण गरेको सिलिन्डरहरू बुझ्दै नगर उपप्रमुख ढाकाकुमारी पराजुलीले विदेशमा बस्ने नेपालीहरूले आफ्नो माटो सम्झेर पसिना बगाएर आर्जन गरेको पारिश्रमिक बापतको रकम कटाएर सहयोग गरेकोमा मोरङ सुनसरी सेवा समाजलाई धन्यवाद व्यक्त गरिन् । संस्थाको यो मानवीय कार्यलाई सबैले मुक्तकण्ठले प्रशंसा गरेका छन् ।