अफगानिस्तानमा एक कमान्डरसहित १८ जना तालिबान मारिए


काठमाडौँ, २० जेठ । अफगानिस्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतङ्ककारी मारिएका छन् ।


अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतङ्ककारीका विरुद्धमा हवाई कारबाही गरिएको थियो । त्यस कारबाहीमा परी १८ जना तालिबानको ज्यान गएको बताइएको छ । त्यस आक्रमणमा परी एक जना तालिबानका कमान्डर पनि मारिएका छन् । मोहम्मद कुरी रजिम नामका ती तालिबानका कमान्डर सो क्षेत्रका प्रभावशाली व्यक्ति रहेका बताइएको छ ।


सो प्रान्तको सैन्य सङ्गठनका प्रवक्ता मोहम्मद हनिफ रेजाइले सो घटनाको पुष्टि गरेका छन् । यहाँको सेना र प्रहरीले उक्त जिल्लामा हवाई हमला गरेको थियो । त्यस कारबाहीमा परी तालिबानका कमान्डर रजिम मारिएका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाइले पुष्टि गरे । उनले ती कमान्डरसहित १८ जना सो कारबाहीमा मारिएका बताए ।

यस कारबाहीको तालिबान आतङ्ककारी समूहले भने अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । त्यसै स्थानमा अफगान सरकारी सुरक्षा बलले गरेको कारबाहीमा केही दिनअघि पनि दर्जनौँ आतङ्ककारी मारिएका बताइएको थियो ।


पछिल्लो समयमा अफगानिस्तानमा तालिबान र आईएस लडाकुहरूले हिंसात्मक क्रियाकलाप जारी राखेका छन् । सोही कारण अफगान सेना र प्रहरीले पनि तालिबान र आईएसका विरुद्धमा आक्रामक कारबाही जारी राखेको बताइएको छ । (सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्