बेलबारी, २० जेठ । प्रहरीले केराबारीबाट हतियारसहित ४ जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ४४ का डिक बहादुर राई, वर्ष ३६ को बुद्धवीर लिम्बु, वर्ष १९ को रामप्रसाद राई र लेटाङ नगरपालिका वडा नं. १ बस्ने वर्ष १९ को विपन लिम्बु रहेको प्रहरीले जनाएको छ ।
वैशाख ८ गते सिकार खेल्न गएको क्रममा गजेन्द्र राईले प्रहार गरेको भरुवा बन्दुकबाट केराबारी ३ का हस्तबहादुर राईको मृत्यु भएको थियो । घटना घटेको भोलिपल्टै प्रहरीले रविन लिम्बू र गजेन्द्र बहादुर राईलाई पक्राउ गरी ज्यान सम्बन्धी र हातहतियार खरखजाना कसुरमा अनुसन्धानको क्रममा अनुसन्धान गरिरहेको थियो । बाँकी अभियुक्त भने फरार रहँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसपी मानबहादुर राईले दिएको जानकारी अनुसार अभियुक्तहरूले केराबारी गाउँपालिका वडा नं. ३ स्थित बाँसघारी खोप सरकारी राष्ट्रिय बनमा लुकाइ राखेको अवस्थामा ४ थान भरुवा बन्दुकसमेत बरामद गरेको छ ।