आफन्त कोही नआए पछि स्वास्थ्यकर्मीले गरे सद्गति


उर्लाबारी, २० जेठ । आफन्त कोही नआए पछि उर्लाबारीमा स्वास्थ्यकर्मीले लासको सद्गति गरेका छन् । उर्लाबारी–४ का एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएपछि उनको सद्गति गर्न कोही पनि तयार नभए पछि स्वास्थ्यकर्मी आफैले चितामा राखेर सद्गति गरेका हुन् । 

जेठ १८ गते कोभिड अस्पताल धरानमा निधन भएका ती पुरुषको शव बुझ्न र उनको शव चितामा पुर्‍याउनेसम्म कोही पनि तयार भएनन् । चितामा पुर्‍याउन कोही पनि तयार नभए पछि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीका ४ जना स्वास्थ्यकर्मी तथा कार्यालय सहयोगीले मृतकको शव बक्राहा खोलामा पुर्‍याएर चितामा राखेपछि मात्र उनका भाइ आइपुगेका थिए । 

कृषि विकास बैंकबाट सेवा निवृत्त भएका ६२ वर्षीय पुरुष अविवाहित थिए । जेठ ४ गते कोरोना पुष्टि भएका उनलाई जेठ १२ गते कोभिड अस्पताल धरानमा भर्ना गरिएको थियो । 

यस्तो विषम परिस्थितिमा पनि आफ्नो ज्यानको प्रवाहै नगरी कोरोना सङ्क्रमितलाई खोलामा पुर्‍याएर सद्गतिसमेत गर्ने स्वास्थ्यकर्मीहरूप्रति स्थानीयहरू नतमस्तक मात्र भएका छैनन् उनीहरूलाई भगवानको अवतार मानेका छन् । 

कोरोना सङ्क्रमणबाट मृत्यु भएकालाई पछिल्लो समय स्थानीय पालिकाको रोहबरमा सद्गति गर्ने अनुमति प्रदान गरेको छ । तर कोरोनाको सङ्क्रमणको डरले आफन्त नै नआइदिँदा कति ठाउँमा त सद्गति दिनेसम्म मानिस नहुने गरेका खबरहरू बाहिर आइरहेका छन् । कतिपय ठाउँमा त कोरोना सङ्क्रमितको लास डढाउने काममासमेत अवरोध गर्ने गरेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस्