सर्वदलिय, सर्वपक्षीय समितिमार्फत सत्यतथ्य बाहिर ल्याउन जनता समाजवादी पार्टीको माग(बोयर बाख्रा प्रकरण)


बेलबारी, २० जेठ । जनता समाजवादी पार्टी (जसपा) बेलबारीले किसानलाई वितरण गरेको बोयर बाख्राका विषयमा सर्वदलिय, सर्वपक्षीय समितिमार्फत सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । जसपाले बिहीबार विज्ञप्ति जारी गर्दै सर्वदलिय, सर्वपक्षीय छानबिन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउन माग गरेको हो । 

बेलबारी नगरपालिकाले केही दिन अघि मात्र अस्ट्रेलियन फुल व्रिड भनेर किसानहरूलाई बोयर बाख्रा वितरण गरेको थियो । तर वितरित बाख्राहरू अस्ट्रेलियन फुल व्रिड नभई नेपालबाटै ल्याइएको भन्दै व्यापक विरोध भइरहेको छ । 

जसपा नगर कमिटी बेलबारीले बोयर बाख्राको विषयमा  विभिन्न पत्र पत्रिका तथा सामाजिक सञ्जालमा भएका टिका टिप्पणीप्रति आफ्नो पार्टीको ध्यान आकृष्ट भएको बताएको छ ।

अध्यक्ष तिलक साम्पाङ राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरपालिकाले बोयर बाख्रा वितरणको नाममा नागरिकको आँखामा छारो हाल्ने काम भएकोले त्यसलाई तुरुन्त रोक्न भनिएको छ । यसै विषयमा काँग्रेस तथा नेकपा एमालेले पनि विज्ञप्ति निकालेर सत्यतथ्य बाहिर ल्याउन माग गरेका थिए । 

उता बेलबारी नगरपालिकाले भने यसअघि नै विज्ञप्ति निकालेर बाख्रा खरिद गर्ने कम्पनी ग्रो अर्ग्यानिक कृषि प्रा.लि सङ्खुवासभालाई वितरित बाख्रा शुद्ध अस्ट्रेलियन बोयर भएको पुस्टी हुने कागजात उपलब्ध नगराए कानुनी कारबाही गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्