२० हजार मेट्रिक टन चिनी आयात गर्ने मन्त्रीपरिषद्को निर्णय


काठमाडौँ, २ असोज । सरकारले २० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । दसैँ तिहार नजिकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गलाई उक्त परिमाणमा चीनी खरिद गर्न मन्त्रीपरिषद्ले अनुमति दिएको छ ।

५० प्रतिशत भन्सार महसुल छुट गरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले १० हजार मेट्रिक टन चिनी आयात गर्ने स्वीकृति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जनाएका छन् ।

चिनीको अभाव सिर्जना हुन नदिन र मुख्य चाडपर्वको समयमा बजारमा देखिने कृत्रिम अभावलाई अन्त्य गर्न सरकारले चिनी आयात गर्न लागेको जनाउँदै, चाँडै बोलपत्र निकालेर चिनी खरिद प्रक्रिया थालिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महानिर्देशक योगेन्द्र गौचनले बताए ।

प्रतिक्रिया दिनुहोस्