मोरङ, १९ जेठ । मोरङको रतुवामाईमा शङ्कास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।मङ्गलवार नेपाल–भारत सीमा क्षेत्रको दशगजानजिक रतुवामाई नगरपालिका–२ यादव टोलमा अन्दाजी २५÷३० वर्षका जस्तो देखिने पुरुषको शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले मङ्गलवार बिहान घोप्टो परेको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेको र प्रहरी घटनास्थलमा पुग्दा मृत अवस्थामा ती पुरुषको लास भेटिएको बताए ।
मृतक नेपाली हुन कि भारतीय नागरिक हुन् भन्ने बारेमा खुल्न सकेको छैन । उनको हत्या भएको हो या हैन भन्ने पनि यकिन हुन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थल दशगजाबाट लगभग एक सय ५० मिटर जति उत्तर नेपालतर्फ पर्छ ।
मृतकको पहिचान र मृत्युको कारण खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।