काठमाडौँ, १९ जेठ । यतिखेर नेकपा एमालेको स्थायी कमिटीको बैठक नियमितजसो बसिरहेको छ । हिजो मात्र स्थायी कमिटीको बैक बसेको थियो । आज अपराह्न ४ बजे पनि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको छ । बैठकमा पार्टी एकता तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा वरिष्ठ नेता नेपालसहित ११ जना नेताहरूलाई पार्टीबाट निष्कासन गरे पछिको अवस्था र पार्टी एकताका लागि अहिलेसम्म भएका प्रयासहरूबारे जानकारी गराइने कार्यक्रम रहेको छ ।
पार्टीबाट निष्कासन गरिए पनि वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावललगायतका केही नेता बाहेक दोस्रो पुस्ताका माधव पक्षीय नेताहरूसँग निरन्तर संवाद चलिरहेको बताइएको छ । पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने अघिल्लो दिनको बैठकको निर्णय अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका १२ सांसदमाथिको कारवाहीसमेत तत्कालको लागि थाती राखिएको बताइएको छ ।
अर्को कुनै चमत्कार नभए नेकपा एमालेलाई फुटबाट जोगाउन कठिन रहेको जानकारहरूले बताइरहँदा एमाले दोस्रो पुस्ताका नेताहरू भने पार्टीलाई फुट्न नदिने पक्षमा देखिएका छन् ।