नारायणहिटी दरबार हत्याकाण्डको २० वर्ष


काठमाडौँ, १९ जेठ । दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुरा भएको छ । २०५८ साल जेठ १९ गते राजदरबारभित्र भएको गोली काण्डमा परेर तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो ।

२०५८ जेठ १९ गते साँझ राजद्वारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्ने गरी भएको हत्याकाण्डको २० वर्षसम्म पुग्दा पनि त्यसको सत्यतथ्य बाहिर आउन हुन सकेको छैन ।दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै देशमा गणतन्त्र स्थापनाको घोषणा भयो । त्यसपछि झन् यस विषयमा खोजी गर्ने कसैको पनि चासो बनेन ।

हत्याकाण्ड भएको नारायणहिटी दरबारलाई संग्रहालय बनाएर सर्वसाधारणका लागि खुला गरिएको छ ।छानबिनका लागि विभिन्न समयमा विभिन्न समिति बनाइए । तर ती छानबिन समितिले वास्तविक घटना बाहिर ल्याउन सकेनन् । यसरी सत्यतथ्य बाहिर आउन नसक्दा उक्त दिन नारायणहिटी दरबारमा के भएको थियो भन्ने कुरा रहस्यकै गर्भमा रहेको छ ।

घटना हुनुको जेजे नाम दिए पनि ती कारणबाट नेपाली जनता भने विश्वस्त हुन सकेका छैनन् । नेपाली जनताले भने उक्त दिनलाई एउटा कालो दिनका रूपमा लिएका छन् । र लिइरहने छन् ।   

प्रतिक्रिया दिनुहोस्