तेह्रथुममा बहुबिवाह गर्ने जनप्रतिनिधि पक्राउ


तेह्रथुम, १९ जेठ । बहुबिबाह गर्ने तेह्रथुका एकजना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका वाड नं ६ चुहानडाँडाका वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो ।


वडा सदस्य कन्दङवाले अर्की श्रीमती घरमा ल्याएपछि उनका जेठी श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएकी थिइन । उजुरीका आधारमा प्रहरीले निज कन्दङ्गवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक कोमल ठाकुरले जानकारी दिएका छन् ।
कन्दङवाले गत शनिबार दोश्रो विवाहका लागि अर्की भित्र्याएका थिए । उनले भित्र्याएकी कान्छी श्रीमती हरिकला भुजेल (आचार्य) पनि अर्कैकी श्रीमती रहेको पाइएको छ ।


वडा सदस्य कन्दङवाका ३ जना छोरी र १ जना छोरा गरी ४ सन्तान छन् घने उता हरिकलाका पनि २ सन्तान रहेका छन् ।
पक्राउ परेका वडासदस्य कन्दङवा र हरिकलालाई म्याद थप गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्