बेलबारी, १९ जेठ । नेपाली काँग्रेस बेलबारीले बोयर बाख्रा प्रकरणको सर्वपक्षीय छानबिन समिति बनाउन माग गरेको छ ।
केही दिन अघि बेलबारी नगरपालिकाले किसानलाई वितरण गरेको अस्ट्रेलियन बोयर जातका बाख्राको विषयमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार र सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति नेपाली काँग्रेस बेलबारीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वितरण गरिएको बाख्रा मापदण्ड अनुसार नभएको र अस्ट्रेलियाबाट ल्याइएको भनेर प्रचारप्रसार गर्ने काम भएको भन्दै काँग्रेसले विज्ञप्ति निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फुल व्रिड बोयर बाख्रा अस्ट्रेलियाबाटै ल्याउने भनेर ग्रो अर्ग्यानिक कृषि प्रा.लि.सङ्खुवासभासँग नगरपालिकाको सम्झौता भएको थियो ।
काँग्रेसले सम्झौता अनुसार बाख्रा अस्ट्रेलियाबाट ल्याइएको प्रमाण दिन नसक्नु र शतप्रतिशत शुद्ध बोयर जातका बाख्रा हुन भनेर पनि प्रमाण दिन नसक्नु, अस्ट्रेलियाबाट बोयर नेपाल भित्रिएको कुनै प्रमाण सम्बन्धित निकायसँग नरहेको भनी सञ्चारमाध्यममा समाचार आउनु, आदिले बोयर बाख्राका नाममा ठूलो आर्थिक चलखेल भएको देखिन्छ आशङ्का गरेको छ ।
नगर सभापति शम्भु भट्टराई र सचिव उपेन्द्र सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त विषयलाई खेदजनक र भर्त्सनायोग्य भनिएको छ । सम्झौता अनुरूप १ करोड २४ लाख रुपैयाँमा शतप्रतिशत बोयर जातका बाख्रा किसानलाई वितरण गरेको भनिएका बाख्राहरूको रूपरेखा पत्याउने आधार नै नभएको, किसान स्वयम पनि यसमा असन्तुष्ट रहेकोले यसलाई काँग्रेसे आम नागरिकको आँखामा छारो हाल्ने, किसानलाई झुक्याउने काम भएको बताएको छ । उक्त अनियमितताबारे सत्यतथ्य छानबिन गर्न सर्वदलीय र सर्वपक्षीय छानबिन समिति गठन गर्न नेपाली काँग्रेस बेलबारी जोडदार माग गरेको छ ।
उता बेलबारी नगरपालिकाले भने यसअघि नै विज्ञप्ति नै निकालेर बाख्रा खरिद गर्ने कम्पनीलाई शुद्ध अस्ट्रेलियन बोयर भएको पुस्टी हुने आवश्यक कागजात उपलब्ध नगराए कानुनी कारबाही गर्ने बताइसकेको छ । ग्रो अर्ग्यानिक कृषि प्रा.लि.सङ्खुवासभालाई आवश्यक कागजात पेस गर्न भनिएको यदि वितरित बाख्रा शुद्ध अस्ट्रेलियन भएको पुष्टि हुने प्रमाण पेस नगरेमा सम्झौता रद्ध गरेर उसलाई कानुनी कारबाही गरिने बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी बताउँछन् ।