काठमाडौँ, १८ जेठ । काठमाडौँ सिनामङ्गलकी ९३ वर्षीय सुशीला भुजेलले कोरोनासँग आत्तिनु नहुने , आत्मबल दह्रो पार्नु पर्ने बताएकी छिन् । कोरोना जितेर घर फर्किएकी उनले सो कुरा बताएकी हुन् ।
कोरोना सङ्क्रमण भएको २४ दिनपछि परीक्षण गर्दा उनको कोरोना नेगेटिभ रिपोर्ट आएसँगै उनी सोमबार घर फर्किएकी हुन् ।वैशाख २४ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उनी ‘यूथ फर नेशन’ले ठमेलमा सञ्चालन गरेको आइसोलेसन सेन्टरमा बसेकी थिइन् ।
कोरोना सङ्क्रमणका कारण आफूलाई कुनै ठूलो समस्या नदेखिएको सुशीलाले बताइन् । यूथ फर नेशनले कोरोना सङ्क्रमितलाई चिकित्सकहरूको निगरानीमा आइसोलेसनमा राख्दै आएको छ । ९३ वर्षीय बृद्धाले सहजै रूपमा कोरोनालाई परास्त गरेको खबरले धेरैको मनोबल दह्रो बनाएको छ ।