उपेन्द्र यादव पक्षद्वारा महन्थ ठाकुरसहितका चार नेता पार्टीबाट निष्कासित


काठमाडौँ, १८ जेठ । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले महन्थ ठाकुरसहितका चार नेतालाई पार्टीबाट निष्कासित गरेको छ । अध्यक्ष उपेन्द्र यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेका हुन् ।

जसपाको यो पक्षले यसअघि गएको बुधवार उनीहरू चारै जनालाई स्पष्टीकरण सोधेको थियो । पहिलो पटक सोधिएको स्पष्टीकरणको जवाफ नदिएपछि २४ घण्टे थप समय दिएर पुनः स्पष्टीकरण माग गरिएको थियो । तर, उक्त अवधिमा पनि जवाफ नदिएपछि पार्टीबाट निष्कासन गरिएको जसपा स्रोतले जानकारी दिएको छ । 

२०७७ वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र सङ्घीय समाजवादी पार्टीबिच एकता भएको थियो । यो कारबाहीसँगै पार्टी औपचारिक रूपमै विभाजित भएको बताइएको छ । 


उता महन्थ पक्षले आठ मन्त्री र दुई राज्यमन्त्रीसहित ओली सरकारमा जाने निर्णय गरिसकेको छ । 

प्रतिक्रिया दिनुहोस्