काठमाडौँ, १८ जेठ । चीनले अनुदान घोषणा गरेको १० लाखमध्ये आठ लाख डोज खोप नेपाल आइपुग्दै छ । आठ लाख डोज खोप चीनको राजधानी बेइजिङबाट आज काठमाडौँ आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज शर्माले दिएको जानकारी अनुसार चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये आठ लाख डोज खोप आज नेपाल आउने, खोप लिन नेपाल वायुसेवा निगमको मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको छ । प्रवक्ता किरणराज शर्माले चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झण्डै एक लाख डोज खोप क्रमशः मङ्गलवार एक लाख र बुधवार एक लाख ल्याइने बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब आउने खोप सर्व प्रथम ज्येष्ठ नागरिकलाई लगाइने जनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेल खोप आए लगत्तै कुन समूहलाई लगाउने सन्दर्भमा स्वास्थ्य मन्त्रालयले निर्णय गर्ने र बताउँछन् ।