बेलबारी, १७ जेठ । कृषकलाई वितरण गरिएका बाख्रा खरिदमा सम्झौता अनुसारको काम नभएको भए खरिद गर्ने कम्पनीलाई बेलबारी नगरपालिकाले कारबाही गर्ने बताएको छ ।
बेलबारी नगरपालिकाले शनिवार मात्रै अस्ट्रेलियन बोयर भनेर किसानलाई ९२ वटा बाख्रा वितरण गरेको थियो । वितरण गरिएको भोलिपल्टै वितरण प्रक्रियामा कमजोरी भएको, अस्ट्रेलियन भनेर अन्य जातको बोयर बाख्रा ल्याएको, पहुँचका भरमा आफन्तलाई वितरण गरिएको भनेर सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा व्यापक विरोध भएको थियो ।
यसरी जनस्तरबाटै व्यापक विरोध भए पछि नगरपालिकाद्वारा सोमबार विज्ञप्ति निकालेर बाख्रा खरिद गर्न अनुमति पाएको कम्पनीले सम्झौता अनुसारको काम नगरेको पाइएमा कारबाही गर्ने बताउँदै बाख्रा ल्याउन अनुमति पाएको ग्रो अर्ग्यानिक कृषि प्रा.लि सङ्खुवासभालाई बाख्राहरू अस्ट्रेलियन फुल व्रेड भएको पुष्टि गर्ने कागजात पेस गर्न भनिएको छ ।
नगरप्रमुख ज्ञानेन्द्र सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘मिति २०७८ वैशाख १५ गते वितरण गरिएका बाख्राका विषयमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका गुनासाप्रति नगरपालिकाको ध्यान आकृष्ट भएको भनिएको छ । नगरपालिकाद्वारा यो विषयमा चासो राख्ने सचेत नागरिक, शुभचिन्तक, पत्रकारप्रति आभारसमेत व्यक्त गरिएको छ ।
विज्ञप्ति निकालेर नगरपालिकाले कमजोरी देखिए सम्झौता गर्ने कम्पनीलाई कारबाही गर्ने भने पनि केहीले भने यो प्रक्रियामा उक्त अर्ग्यानिक कृषि प्रा.लि मात्र नभएर नगरपालिकासमेत दोषी भएको आरोप लगाउँदै त्यसोसमेत अनुगमन हुनुपर्ने बताउँदै आएका छन् ।
नगरपालिकाले वितरण गरेका बाख्राहरू शतप्रतिशत बोयर भएको पत्याउने ठाउँ नै नभएको बेलबारी ८, राधानगरका उत्तम गौतम बताउछन् । उनी लामो समयदेखि राधानगरमै बोयर बाख्रा फम सञ्चालन गरिरहेका व्यक्तिसमेत हुन् । उनी आफूले पनि नगरपालिकाबाट एउटा बोका र एउटा पाठी पाएको तर यसमा शतप्रतिशत बोयर भनेर पत्याउने ठाउँ नै नभएको बताउँछन् ।
उनी भन्छन् ‘यदि अस्ट्रेलियाबाट ल्याएको भए तिनीहरूको कागजात हुनु पर्यो, खै त त्यसको कागजात ?साथै उनी यी बाख्राहरूमा पचास प्रतिशत भन्दा बढी व्रिड नभएको दाबी गर्छन् ।
उता लामो समयदेखि बोयर बाख्राकै उपचारमा संलग्न भेटनरी डां सन्तोष यादव पनि बोयर बाख्रा किन्दा विक्रेताले कागज दिनु पर्ने विचार राख्छन् । उनी पछिल्लो समय पचास प्रतिशत बोयरलाई पनि शतप्रतिशत भनेर बेच्ने गरेकाले किसानलाई सचेत हुन आग्रह गर्दछन् ।