बेलबारी नगरपालिकाले अनुगमन गर्ने, कुनै कमजोरी भेटिए कारबाही गर्ने : बोयर बाख्रा प्रकरण


बेलबारी, १६ जेठ । बेलबारी नगरपालिकाले बोयर जातको बाख्रा खरिद र वितरणमा कमजोरी भएको पाइएमा कारबाही गर्ने भएको छ । बोयर जातका बाख्रा खरिद तथा वितरण प्रक्रियामा कमजोरी भएको, अष्ट्रेलियन भनेर अन्य जातको बोयर बाख्रा ल्याएको, पहुँचका भरमा वितरण गरिएको भनेर सामाजिक सञ्जालमा विरोध भए पछि नगरपालिकाले सो कुरा बताएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यपालिकाको बोर्ड बैठके नै निर्णय गरेर खुद अष्ट्रेलियन बोयर बाख्रा ल्याउने निर्णय अनुसारको टेण्डर प्रक्रियामार्फत बाख्रा ल्याउने काम भएको यसमा केही तलमाथि भएको भए नगरपालिकाले कारबाही गर्ने बताउँछन् । नगरप्रमुख सुवेदीले बाख्रा उपलब्ध गराउने कम्पनीले उपलब्ध गराएका कागजातको जाँच गर्न निर्देशन दिइसकेको बताए । साथै उनले प्रत्येक वाड समितिमार्फत वितरण भएकाले बाहिर सामाजिक सञ्जालमा हल्ला भएजस्तो नभएको यदि त्यसमा पनि कुनै आग्रह वा पूर्वाग्रही पूर्ण रूपमा वितरण भएको पाइएमा छानबिन हुने बताए ।

तर विपन्न तथा वास्तविक किसान भन्दा आर्थिक रूपमा सम्पन्न व्यक्तिहरूले बेलबारी नगरपालिकाको अनुदान बाख्रा पाएको स्थानीयको गुनासो रहेको छ । उपप्रमुख ढाकाकुमारी पराजुलीले यो विषयको ध्यानाकर्षण भएको बताउँदै आफूले यो विषय बाहिर आउनसाथ सबै कुराको पुष्टि नभएसम्म रकम निकासा नगर्न लेखा शाखालाई निर्देशन दिइसकेको बताइन । उनले भनिन् ‘बाहिर हल्ला आएको छ, त्यसको अनुगमन हुन्छ । पशु विशेषज्ञको टिमले हेरेर ठिक छ नभनेसम्म रकम निकासा हुँदैन ।’

बेलबारी नगरपालिकाले शनिवार मात्रै किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको थियो । एक करोड २५ लाख मूल्य बराबरको अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएको ९२ वटा बोयर बाख्रा किसानहरूलाई वितरण गरिएको थियो । बाख्रा अस्ट्रेलियन कम्पनी ग्रो अर्ग्यानिक प्रा.लिले टेन्डर विट गरेर अर्को अष्ट्रेलिया संस्था, बोयर गोट व्रिडर एसोसिएसनसँगको सहकार्यमा बाख्रा ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्