काठमाडौँ, १६ जेठ । बङ्गालको खाडीमा विकसित ‘यास’ चक्रवातको प्रभाव अझै कायम रहेकोले सचेत रहन आग्रह गरिएको छ । चक्रवात पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले सचेत रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले दिएको जानकारी अनुसार आज सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशहरूका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
प्रदेश–१ को तराई भू–भागमा र प्रदेश–२ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश–१, प्रदेश–२ वागमती प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।