बेलबारी नगरपालिकाद्वारा किसानलाई अस्ट्रेलियन बोयर बाख्रा वितरण


बेलबारी, १५ जेठ । मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर किसानहरूलाई बोयर जातको बाख्रा वितरण गरेको छ । कोरोनाको महामारीकैबिच नगरपालिकाले कृषक समूह तथा व्यावसायिक फर्महरूलाई बाख्राका पाठा पाठी वितरण गरेको हो । 

बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीका अनुसार एक करोड २५ लाख मूल्य बराबरको अस्ट्रेलियाबाट चार्टर गरी ल्याइएको ९२ वटा बोयर बाख्रा किसानहरूलाई वितरण गरिएको छ । अस्ट्रेलियन कम्पनी ग्रो अर्ग्यानिक प्रा.लिले टेन्डर विट गरेर अर्को अष्ट्रेलिया संस्था, बोयर गोट व्रिडर एसोसिएसनसँगको सहकार्यमा बाख्रा ल्याइएको सुवेदीले जानकारी दिएका छन् ।नगरपालिकाले माग गरेको ५० वटा बोका र ३३ वटा पाठीमा उक्त कम्पनीले ६ वटा बोका र ३ वटा पाठी निःशुल्क प्रदान गरेको सुवेदीले बताए । बेलबारीलाई बोयर बाख्राको पकेट क्षेत्रका रूपमा विकास गर्ने नगरपालिकाको उद्देश्य अनुरूप किसानहरूलाई छिटो र बढी आर्थिक लाभ हुनेमा प्रमुख सुवेदी आशावादी छन् । 

नगरपालिकाले समूह तथा फर्महरूलाई सर्त नै राखेर ती पाठा पाठी वितरण गरेको छ । अनुदानमा दिएका बाख्राहरू बिक्री गर्न नपाउने नगरपालिकाको सर्त रहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । नगरपालिकाले बोयर बाख्रा पाठा अनुदानमा दिनका लागि कार्यविधि नै निर्माण गरेको छ ।  

यी जातका बाख्राले थोरै समयमा धेरै नाफा दिने भएपछि कृषकहरू उत्साहित देखिएका छन् । अन्य जातको बाख्रालेभन्दा बोयरले छोटो समयमा बढी फाइदा दिने उनीहरूले आसा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्