काठमाडौँ, १५ जेठ । अर्थ मन्त्री विष्णु पौडेलद्वारा आर्थिक वर्ष २०७८\७९ को बजेट प्रस्तुत गर्ने कार्य सुरु गरेका छन् । आजै बसेको मन्त्रिपरिषद्को बैठकले पास गरेर अध्यादेशका लागि राष्ट्रपतिसामु पठाइएको थियो ।
प्रत्येक वर्षको जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाका कारणले अध्यादेशबाट भए पनि बजेट ल्याउन सरकार वाध्य बनेको थियो । प्रतिनिधिसभा विघटन भएकोले अध्यादेशमार्फत नै बजेट ल्याउनु पर्ने वाध्यता रहेको सरकारको जिकिर रहेको छ ।
कामचलाउ सरकारले फुलफेजको बजेट ल्याउन नमिल्ने, चुनावी प्रकृतिको मात्र बजेट मात्र ल्याउनु पर्छ भनेर चौतर्फी रूपमा विरोध भए पनि सरकारले फुलफेजकै बजेट ल्याउने तयारी गनेको थियो । अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेको भए पनि वर्तमान सरकार विज्ञहरूको राय सुझावलाई सुन्ने पक्षमा देखिएको थिएन ।
बजेट भाषणको कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।