काठमाडौँ, १५ जेठ । आज घोषणा हुन लागेको आर्थिक वर्ष २०७८–७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेर स्वीकृतिका लागि राष्ट्रपतिसामु पठाइएको छ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपति समक्ष पठाएको हो ।
कामचलाउ सरकारले फुलफेजको बजेट ल्याउन नमिल्ने, चुनावी प्रकृतिको मात्र बजेट मात्र ल्याउनु पर्छ भनेर चौतर्फी रूपमा विरोध भए पनि सरकारले फुलफेजकै बजेट ल्याउने तयारी गरिरहेको छ ।
अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेको भए पनि वर्तमान सरकार विज्ञहरूको राय सुझावलाई सुन्ने पक्षमा देखिएको छैन ।
दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेट भाषणको कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिए पनि सरको कदमको विरुद्धमा रहेकोले विपक्षी दलका नेताहरू भने उपस्थित हुने सम्भावना कम देखिएको छ ।