काठमाडौँ, १५ जेठ । बजेटबारे छलफल गर्न सरकारले मन्त्री परिषद्को बैठक डाकेको छ । ११ बजेका लागि बोलाइएको आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिसामु बजेट अध्यादेश सिफारिस गर्ने कार्यक्रम रहेको बताइएको छ ।
प्रत्येक वर्षको जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले अध्यादेशबाट बजेट ल्याउन लागिएको सरकारले जनाएको छ । प्रतिनिधिसभा विघटन भएकोले अध्यादेशमार्फत नै बजेट ल्याउनु पर्ने वाध्यता रहेको सरकारको जिकिर रहेको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकले अध्यादेशका रूपमा बजेट ल्याउन राष्ट्रपतिलाई सिफारिस गर्ने, राष्ट्रपति स्वीकृति प्रदान गरेपछि अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ ।
कामचलाउ सरकारले फुलफेजको बजेट ल्याउन नमिल्ने, चुनावी प्रकृतिको मात्र बजेट मात्र ल्याउनु पर्छ भनेर चौतर्फी रूपमा विरोध भए पनि सरकारले फुलफेजकै बजेट ल्याउने तयारी गरिरहेको छ । अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेको भए पनि वर्तमान सरकार विज्ञहरूको राय सुझावलाई सुन्ने पक्षमा देखिएको छैन ।
दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । बजेट भाषणको कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिए पनि सरको कदमको विरुद्धमा रहेकोले विपक्षी दलका नेताहरू भने उपस्थित हुने सम्भावना कम देखिएको छ ।
देशमा चुनाव घोषणा भइसकेकाले सरकारले मतदाता आकर्षित गर्ने र वितरणमुखी कार्यक्रम बजेटमा राख्न नपाउने विज्ञहरूको मतलाई लत्याउँदै यस बजेटमा सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि लगायतका कार्यक्रम समेट्ने आशङ्का गरिएको छ । यद्यपि यस वर्षको बजेट स्वास्थ्य क्षेत्र केन्द्रित हुने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।