आज १६ खर्ब हाराहारीको बजेट सार्वजनिक हुँदै


काठमाडौँ, १५ जेठ । सरकारले आज करिब १६ अर्व बराबरको बजेट सार्वजनिक गर्दै छ ।

कामचलाउ सरकारले फुलफेजको बजेट ल्याउन नमिल्ने, चुनावी प्रकृतिको मात्र बजेट मात्र ल्याउनु पर्छ भनेर चौतर्फी रूपमा विरोध भए पनि सरकारले फुलफेजकै बजेट ल्याउन लागेको हो । 

बजेट संसदका दुवै सदनमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद् नरहेको कारणले सरकारले अध्यादेशमार्फत नै बजेट सार्वजनिक गर्न लागेको हो । हरेक वर्षको जेठ १५ गते बजेट ल्याउने कानुनी वाध्यतालाई टेकेर सरकारले आज बजेट ल्याउन लागेको हो । 

दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । बजेट भाषणको कार्यक्रममा विपक्षी दलका नेता, सबै मन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू र निजी क्षेत्रका प्रतिनिधिहरूलाई उपस्थितिका लागि आमन्त्रण गरिए पनि सरको कदमको विरुद्धमा रहेकोले विपक्षी दलका नेताहरू भने उपस्थित हुने सम्भावना कम देखिएको छ । 

अध्यादेशमार्फत बजेट नल्याउन पूर्व अर्थमन्त्री, पूर्व प्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्व प्रमुख निर्वाचन आयुक्त लगायतले आग्रह गरिरहेको भए पनि वर्तमान सरकार विज्ञहरूको राय सुझावलाई सुन्ने पक्षमा देखिएको छैन । 

देशमा चुनाव घोषणा भैसकेकाले  सरकारले मतदाता आकर्षित गर्ने र वितरणमुखी कार्यक्रम बजेटमा राख्न नपाउने विज्ञहरूको मतलाई लत्त्याउँदै यस बजेटमा सरकारले सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि लगायतका कार्यक्रम समेट्ने आशङ्का गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्