सुन्दरहरैँचा, १४ जेठ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै सुन्दरहरैँचा नगरपालिकाको बाँसबारीमा प्रहरी चौकीको निर्माण कार्य सुरु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका वडा ४ र ५ को आर्थिक सहयोगमा निर्माण हुन गइरहेको उक्त भवनको आज वडा –४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै अध्यक्ष श्रेष्ठले प्रहरी चौकीको निर्माणले पर्यटकीय क्षेत्रको रूपमा विकास हुँदै गएको यो क्षेत्रमा भविष्यमा हुने अवान्चित घटना हुन नदिन तथा न्यूनीकरण गर्न शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने बताए ।
यस प्रहरी विटमा असईको नेतृत्वमा १ महिला हवल्दार, २ प्रहरी जवान र १ ट्राफिक प्रहरी रहने गरी ५ जना सुरक्षाकर्मी रहेको छन् । शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने सुरक्षाकर्मीलाई हौसला प्रदान गर्दै बिट निर्माणदेखि भवन निर्माण सम्म ४ र ५ वडाले खेलेको भूमिका र स्थानीय जनताले गरेको सहयोगप्रति नगर प्रमुख शिव प्रसाद ढकालले धन्यवाद दिँदै बाकी बजेट नगर परिसदबाट विनियोजित हुने जानकारी गराए ।
सुन्दरहरैँचा नगरपालिका र इलाका प्रहरी कार्यालयको पहलमा प्रहरी बिट निर्माण गरेको १ वर्ष नबित्दै सोही २ वडा बिच रहेको बाँसबारीमा प्रहरीका लागि सुविधा सम्पन्न भवनको शिलान्यास हुनुलाई स्थानीयले पनि महत्वकासाथ हेरेका छन् ।