बेलबारीले गर्याे ८० हजार डोज कोरोनाको खोप किन्ने तयारी


बेलबारी, १४ जेठ । कोरोना सङ्क्रमण दर बढ्दै गए पछि मोरङको बेलबारी नगरपालिकाले कोरोना खोप खरिद गर्ने तयारी गरेको छ ।

 नगरमा कोरोनाको सङ्क्रमण दर तथा मृत्यु हुनेको सङ्ख्यासमेत बढ्दै गएको र खोप नै एउटा मात्र भरपर्दो माध्यम भएको भएको ठहर गर्दै नगरपालिकाले आफ्नै श्रोतमा कोरोना खोप खरिद गर्ने निर्णय गरेको हो । 

नगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्र लेख्दै १८ वर्षदेखि माथि ४० वर्षसम्मका ४० हजार नागरिकहरूलाई पहिलो र दोस्रो चरणको खोप गरी ८० हजार खोप आवश्यक रहेकोले खोप खरिदका लागि स्विकृति माग गरेको छ ।बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीद्वारा हस्ताक्षरित पत्रमा कोरोना रोकथामको लागि खोप नै एउटा मात्र भरपर्दो माध्यम भएको र आफ्ना नगरवासीलाई बचाउनु नगरपालिकाको कर्तव्य रहेकोले  खोप खरिदका लागि स्वीकृति प्रदान गरिदन अनुरोध छ भनिएको छ । 

नगरपालिकामा कोरोना सङ्क्रमण दर उच्च हुँदै गएपछि, सङ्घीय सरकारको मात्र भरपर्दा धेरैको ज्यान जा नसक्ने देखे पछि नगरपालिकाले आफ्नै श्रोतमा खरिद गरेरै भए पनि आफ्ना नगरवासीलाई कोरोनाबाट बचाउन यस्तो निर्णय गरिएको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताएका छन् । 

नगरपालिकाको यस्तो निर्णयलाई स्थानीयले सकारात्मक रूपमा लिँदै यो निर्णयका लागि नगरपालिकालाई धन्यवादसमेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्