संविधानविद्सँग परामर्श गर्दै सभामुख सापकोटा


काठमाडौँ, १३ जेठ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटन पछिको अवस्थाको बारेमा संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।

 प्रतिनिधिसभा विघटन पछिको अवस्था र त्यसले निम्त्याएको सङ्कटको बारेमा प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संविधानविद्हरूसँग परामर्श सुरु गर्न लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे छलफल गर्न दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा कानुन तथा न्यायिक क्षेत्रका विज्ञहरूलाई सभामुखले डाकेको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जनाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषण गरे पछि त्यस कदमको विरुद्धमा प्रतिपक्षीद्वारा सर्वोच्च अदालतमा दर्ता भएका रिटको सुनुवाइसमेत आजदेखि हुँदैछ । सरकार गठन गर्ने आधार रहँदा रहँदै संसद्को विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै सापकोटाले जेठ ८ गते विज्ञप्ति नै जारी गरेर उक्त कदमको विरोध जनाएका थिए ।

सभामुख सापकोटाले बुधवार पूर्वसभामुखहरूसँगसमेत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्