’काठमाडौँ, १३ जेठ । त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसहरूलाई वैकल्पिक विधिबाट पठनपाठन सुरु गर्नु अनुरोध गरेको छ । कोरोना सङ्क्रमणका कारण भौतिक कक्षा सञ्चालन हुन नसक्ने देखे पछि त्रिभुवन विश्वविद्यालयले क्याम्पसहरूलाई शैक्षिक गतिविधि बन्द नहुने गरी वैकल्पिक विधिहरू अपनाएर कक्षा सञ्चालन गर्न आग्रह गरेको हो ।
शिक्षाध्यक्ष प्राध्यापक डाक्टर शिवलाल भुषालले बुधवार सूचना निकालेर वैकल्पिक विधिबाट पढाइ सञ्चालन गरिरहेकाहरूलाई धन्यवाद दिँदै पढाइ रोकिएका क्याम्पसहरूलाई पनि सम्भव भएका विधिबाट शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
निषेधाज्ञा तथा लकडाउनका कारण आवतजावतमा समस्या हुने भएकाले अत्यावश्यक नभई कार्यालयमा उपस्थित नहुन पनि सबै कर्मचारीहरूलाई त्रि.वि.को आग्रह छ । यस्तै यस वर्ष हिउँदे तथा वर्षे बिदाहरू नपाउने पनि सूचनामा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयले रोकिएका परीक्षाहरू भने उपयुक्त समयमा गर्ने पनि जनाएको छ । विश्वविद्यालयको यो सूचनाले पठनपाठन रोकिएका विद्यार्थीहरूलाई केही राहत मिले पनि लामो समयदेखि परीक्षाको पर्खाइमा बसेकालाई भने झन् अन्योल थपिदिएको विद्यार्थीहरू बताउँछन् ।