कानेपोखरी ७ को ग्रामथान अतिक्रमण नगर्न धिमाल जातीय विकास केन्द्रको गाउँपालिकालाई अनुरोध


अध्यक्ष काफ्ले भन्छन्, ‘अतिक्रमण हैन संरक्षण गर्ने हो’

कानेपोखरी, १३ जेठ । मोरङको कानेपोखरी वडा नं. ७ स्थित धिमाल समुदायको ग्रामथान रहेको क्षेत्रमा गाउँपालिकाले व्यवसायीक संरचना निर्माण गर्न लागेको भन्दै धिमाल जातीय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समितिले आपत्ति जनाएको छ । धिमाल जातीय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समिति र धम्कुवा गाउँ टोल समितिले विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरेको हो ।


सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा स्थानीय सरकारले खुल्ला व्यायामशाला तथा विभिन्न व्यावसायिक संरचना निर्माण गर्न लागेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको पहलमा मन्त्रालयबाट ५० लाख गाउँपालिकामा आएपछि धिमाल समुदायसँग छलफल र अनुमति बिना त्यस क्षेत्रमा खुल्ला व्यायामशाला, प्रवेशद्वार (गेट), वनभोज खाने कटेज, विश्रामालय, खानेपानी ट्युबवेल लगायत निर्माण गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ । रंगेली–कानेपोखरी हुलाकी मार्गले छोएको पूर्वपश्चिम राजमार्ग अन्तरगत कानेपोखरी चोकदेखि १ किलोमिटर दक्षिणमा रहेको सो पोखरी क्षेत्रमा धिमाल जातिको ग्रामथान रहेको छ । 


धिमाल जातिको जीवन पद्धति वन जंङ्गल, खोला नाला लगायतको प्रकृति सँग जोडिएको हुने बताउँदै समुदायको इतिहास, संस्कृति संरक्षण गर्न राज्यको दायित्व भए पनि विकासको नाममा समुदायको इतिहासलाई नै नामेट पार्ने कार्य स्थानीय सरकारले गरिरहेको प्रति धिमाल जातीय विकास केन्द्रका केन्द्रीय उपाध्यक्ष केदार धिमालले आक्रोश व्यक्ति गरेका छन् । धिमाल समुदायसँग विना छलफल, विना अनुमति ऐतिहासिक स्थलको अतिक्रमण गर्नु अन्तर्राष्ट्रिय श्रम संगठन महासम्धी १६९ विपरीत कार्य भएको समेत उनले बताए । 


कानेपोखरी ग्रामथानको इतिहास, संस्कृति, मिथकहरूलाई समाप्त पार्ने ध्येयका साथ स्थानीय सरकारले विभिन्न व्यावसायिक संरचना निर्माण गर्ने अदूरदर्शी कदमलाई सच्याउन धिमाल जातीय विकास केन्द्र, कानेपोखरी गाउँपालिका समितिका अध्यक्ष प्रकाश धिमालले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् ।

तर गाउँपालिकाका प्रमुख तारा काफ्लेमा अनुसार ग्रामथान स्थापना गर्ने जनतालाल धिमालसहित बसेको सर्वदलीय बैठकको निर्णय बमोजिम पर्यटक स्थलको रूपमा विकास गर्ने उद्देश्यले सो क्षेत्रमा संरचना निर्माणको तयारी गरेको हो । धिमाल समुदायलाई असर नपुराउन यथास्थानमै ग्रामथान राख्नलाई गाउँपालिका सहमत भए पनि सार्न मिल्ने बताए पछि सोही स्थानको ३० मिटर दक्षिण तर्फ राख्ने निर्णय भएको काफ्ले बताउँछन् ।


प्रमुख काफ्लेका अनुसार ४ वर्ष अगाडी देखी मात्र ग्रामथानको स्थापना भएको हो । प्रमुख काफ्ले भन्छन्, “परम्परागतता हैन, ४ वर्ष अघि देखी मात्र ग्रामथानको स्थापना गरी पूजाआजा सुरु भएको हो । धिमालहरूको ग्रामथान पनि संरक्षण गर्दै सो क्षेत्रलाई पर्यटकीय स्थलमा विकास गर्नु छ ।” उनले भने, ‘केहीले अतिक्रमणको आरोप लगाउँदै छन् तर गाउँपालिकाले अतिक्रमण हैन संरक्षण गर्ने हो ।’

प्रतिक्रिया दिनुहोस्