काठमाडौँ, १३ जेठ । कोरोना भाइरसको सङ्क्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा बुधवार राती ११ बजेतिर निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ ।
एक हप्ता देखि कोरोना सङ्क्रमण देखिएर काठमाडौँमा उपचार गराइरहेका मल्ल निमोनिया र मुटुसम्बन्धी समस्याबाट पीडित रहेको उनका भतिजा रूपक मल्लले बताएका छन् । स्वः मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।
पूर्व राष्ट्रिय पञ्चायतका सदस्यसमेत रहेका मल्ल राष्ट्रिय प्रजातन्त्र पार्टी हुँदै काँग्रेसमा प्रवेश गरेका थिए । २०७४ सालमा नेपाली काँग्रेसको कोटाबाट सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका मल्ल त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा पदमुक्त भएका थिए ।