काठमाडौँ, १२ जेठ । चीनका राष्ट्रपति सीले नेपाललाई १० लाख डोज कोभिड खोप दिने घोषणा गरेका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई कोरोना भाइरसविरुद्ध लड्न १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले यस्तो घोषणा गरेका हुन् । चीनले यसअघि पनि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिइसकेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार समकक्षी सीलाई फोन गरी नेपाललाई आवश्यक कोरोना खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।दुई राष्ट्रपतिबिचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने घोषणा भएको जानकारी गराएकी छिन् ।
राजदूत होउले लेखेकी छिन्, ‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चिनिफिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् ।’
यता राष्ट्रपति विद्यादेवी भण्डारीले आजै कोरोनाविरुद्धको खोप उपलब्ध गराई दिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गरेकी थिइन् ।