काठमाडौँ, १२ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण भन्दा निको हुनेको सङ्ख्या बढेको पाइएको छ । ६,७१६ जना कोरोना भाइरस सङ्क्रमित उपचारपछि निको हुँदा ६,७१४ नयाँ थपिएका छन् ।
नेपालमा हालसम्म ५ लाख ३५ हजार ५६४ जना सङ्क्रमित उपचारपछि निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६,७१४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाको पीसीआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६,७१४ जनामा सङ्क्रमण पुष्टि भएको । देशभर हाल एक लाख १७ हजार ७७७ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट १४५ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६,८४५ पुगेको छ । देशभर ८५२ जना क्वारेनटाइनमा रहेका छन् ।