राहत बोकेर श्रमिक महिला समूह घरघरमा पुग्दै


बेलबारी, १२ जेठ । लकडाउनका मुख्य मारमा परेका गरिब तथा अति विपन्न परिवारलाई श्रमिक महिला समूह बेलबारीले राहत उपलब्ध गराएको छ । 

वैशाख २४ गतेदेखि जिल्लाभर लागु भएको लकडाउनले गर्दा आफ्नो व्यवसाय गुमाएका गरिब तथा अति विपन्न परिवारहरू भोक भोकै मर्ने बेला आए पछि आफूहरूले सहयोग गरेको श्रमिक महिला समूह बेलबारीकी अध्यक्ष नितु थापा कोइराला बताउँछिन् । 

अध्यक्ष कोइरालाका अनुसार अहिलेसम्ममा आफूहरूले बृद्घबृद्घा, एकल महिला, गरिब तथा अति विपन्न परिवारलाई घरघरमा पुगेर राहत उपलब्ध गराइरहेको, उपलब्ध गराइएको राहत प्याकेजमा २५ किलो चामल, एक लिटर तेल, एक किलो नुन, सोयाविन र एक बण्डल साबुन आदि रहेको छ । 

लकडाउनको असर मध्यमवर्गीय परिवारलाई भन्दा पनि निम्न आय भएका असहाय निमुखा त्यसमा पनि एकल तथा बृद्घबृद्घा ठूलो मारमा परेको थाहा पाए पछि आफूहरूले घरघर पुगेर सहयोग गरिरहेको, सहयोग गर्ने कार्यमा हातेमालो गर्न पनि उनले आग्रह गरेकी छिन् ।

गत वर्ष लकडाउन भएको केही दिनमै राहत बढ्ने काम सुरु भएको थियो । अझ भन्नुपर्दा राहत बढ्नेको होडबाजी नै चलेको थियो तर यसपालि भने यतिका समय बितिसक्दा पनि कहि कतैबाट राहत बाढ्ने  काम भएको देखिँदैन । यस्तो बेलामा श्रमिक महिला समूहद्वारा बृद्घबृद्घा, तथा एकल महिलालाई वितरण गरिएको राहतलाई स्थानीयले महत्त्वपूर्ण रूपमा लिएका छन् । 

प्रतिक्रिया दिनुहोस्