काठमाडौँ, १२ जेठ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले आन्तरिक मामला भएको बताउँदै त्यसको समाधान पनि आन्तरिक तरिकाबाटै गर्न सुझाव दिएको छ ।
बुधवार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रूपमा हेरेको र उसले आन्तरिक रूपमै समाधान गर्नु पर्ने बताएका हुन् । भारतीय विदेश मन्त्रालयले भनेको छ ‘हामीले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यानपूर्वक हेरेका छौँ । यसलाई हामी नेपालको आन्तरिक मामिलाका रूपमा नै लिन्छौ । नेपालले पछिल्लो समस्या आफ्नै घरेलु ढाँचा र लोकतान्त्रिक प्रक्रियामा रहेर समाधान गर्नुपर्छ ।’
त्यस्तै उसले एक छिमेकी मुलुक भएका नाताले भारतले सधैँ नेपालको प्रगति, शान्ति, स्थिरता चाहेको पनि प्रस्ट पारेको छ ।केही दिनअघि मात्रै नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेले ‘भारत नेपालमा निरङ्कुश शासनको पक्षमा छ भन्ने आम धारणा’ लाई भारतले हटाउनुपर्ने बताएका थिए ।
पूर्व राजदूत रेको यो धारणा र भारतको यो पछिल्लो विज्ञप्तिले ओलीको पछिल्लो कदमलाई भारतको समर्थन छ भन्ने बुझाइलाई चिर्ने काम गरेको जानकारहरू बताउँछन् ।