जसपाका महन्थ ठाकुरसहित ४ जना नेतालाई सोधियो स्पष्टीकरण


काठमाडौँ, १२ जेठ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधिएको छ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई स्पष्टीकरण सोधेका हुन् ।

अध्यक्ष ठाकुरलाई ९ बुँदे, यस्तै राजेन्द्र महतोसँग ६ बुँदे, लक्ष्मणलाल कर्णसँग ५ बुँदे, सर्वेन्द्रनाथ शुक्लसँग ५ बुँदे स्पष्टीकरण सोधिएको छ ।यता यादव पक्षले केही दिनयता ठाकुरको काम कारबाही र क्रियाकलापहरू पार्टीको नीति विपरीत भइरहेको भन्दै स्पष्टीकरण मागिएको पत्रमा उल्लेख छ ।

पार्टी विधानको धारा ४९ मा भएको अनुशासनको कारबाही सम्बन्धी व्यवस्थाअनुसार उक्त प्रष्टीकरण सोधिएको छ । ठाकुरलाई तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन भनिएको छ । चित्तबुझ्दो जवाफ नआएमा कारबाहीको चेतावनीसमेत दिएको छ ।यसअघि ठाकुर पक्षले यादवलाई सात बुँदे स्पष्टीकरण सोधेको थियो ।

यसरी एकले अर्को पक्षलाई स्पष्टीकरण सोध्ने क्रम बढेसँगै पार्टी विभाजोन्मुख रहेको अनुमान गर्न थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्