विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने छ : मन्त्री राई


विराटनगर, ११ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने बताउनुभएको  छ । उहाँले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताउनुभयो । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा आज अधिकारकर्मीको सुझाव लिँदै उहाँले सो कुरा बताउनु भएको हो ।

विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिने गरी प्रदेशवासीबाट सहयोग संकलन गरी उपचार कोष निर्माणको अवधारणा अघि सारिएको उहाँले बताउनुभयो । अभियानमा प्रदेश १ का कुनै पनि नागरिक नछुटुन् भनेर न्यूनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने गरिएको अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सम्पन्न व्यक्तिहरू हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन् ।’ गरिब जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भनेर अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।

सहयोग गर्न सक्नेहरूले आफ्नो योगदान सजिलै हेर्न सकिने गरिएको सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताउनुभयो । उहाँले उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने समेत बताउनुभयो । सामाजिक विकास मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरी प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो । कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

उहाँले महिला, बालबालिका, ज्येष्ठ नागरिक सम्बन्धीको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सामाजिक विकास परिषद् गठनमा जोड दिनुभयो । कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझाव सँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गर्नुभयो । सामाजिक क्षेत्रले उठाएका सवालहरूलाई सरकारले दिगोपना दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचबिखनका घटनाहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो । उहाँले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गर्नुभयो । अधिकारकर्मी डिक घिमिरेले विगत वर्षका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्