काठमाडौँ, ११ जेठ । पूर्व सभामुखहरूको बैठकले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक रहेको बताएका छन् ।आज सभामुख अग्निप्रसाद सापकोटाले आयोजना गरेको बैठकमा आ–आफ्नो धारणा राख्दै पूर्व सभामुखहरूले उक्त बिचार राखेका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भङ्ग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले यो कदमलाई असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएका छन् ।
देशमा कोरोनाले महामारीको रूप लिइरहेको बेलामा कोरोना महामारी रोक्न अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा सरकारले चुनाव घोषणा गरेर देशलाई थप सङ्कटमा धकेलेको पूर्व सभामुखहरूको आरोप रहेको छ । साथै उनीहरूले यसलाई अलोकतान्त्रिक र असंवैधानिक कदमसमेत रहेको बताएका छन् । वर्तमान प्रधानमन्त्री आन्दोलन र सङ्घर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेकोमा उनीहरूको जोड रहेको छ ।
बैठकमा पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका थिए । तर पूर्व सभामुख सुवास नेम्वाङ भने बैठकमा सहभागी भएका थिएनन् ।