कोरोना रोकथाम र नियन्त्रणमा इटहरीका सबै जुटौँ : प्रमुख चौधरी


इटहरी, ११ जेठ । इटहरी उपमहानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा जुट्न सबै पक्षसँग आग्रह गरेको छ । सर्वपक्षीय छलफल आयोजना गरेर यस्तो आग्रह गरिएको हो । 

उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा स्वास्थ्य सतर्कता पालन गरेर भएको छलफलमा इटहरी उपमहानगरद्धारा कोरोना रोकथाम र नियन्त्रणमा अहिले सम्म गरिएका कार्यका बारेमा जानकारी गराइएको छ । 

स्वास्थ्य शाखाका विकास पौडेलले महामारी नियन्त्रणमा टेस्टिङ्ग,कन्ट्राक ट्रेसिड,आइसोलेसन र उपचार रणनीति अवलम्बन गरिएको जानकारी गराइयो । परीक्षणको दायरा  बढाएर हाल सय बढीको परीक्षण थालिएको र त्यसलाई अझ बढाउन प्रयास भइरहेको जानकारी दिनुभयो ।

समुदायस्तरमै गएर एन्टिजेण्ट परीक्षण गर्न थालिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । बैठकमा नेकपा एमाले इटहरी अध्यक्ष याम सुब्बा,नेपाली काँग्रेस नगर सभापति हेमकर्ण पौडेल,नागरिक समाजका अध्यक्ष सन्त डुम्जन,पूर्व अध्यक्ष कमलेश पौडेल,रेडक्रस सभापति विमल पौडेल,मुक्तिधाम व्यवस्थापन समितिका अध्यक्ष हेम घिमिरेले सुझाव प्रस्तुत गर्नुभयो ।

छलफलमा पीसीआर परीक्षण गर्ने मेशिन खरिदका लागि सहयोग गर्ने त्यसको सञ्चालन र व्यवस्थापन उपमहानगरले गर्नुपर्ने प्रस्ताव गरिएको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले सो को प्राविधिक पक्ष अध्ययन गरेर आवश्यक निर्णय लिइने बत्ताउनुभयो । वडा नम्बर ४ का अध्यक्ष चन्द्र भट्टराई र वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले कोरोना रोकथाम र नियन्त्रणमा वडामा भइरहेका कार्यका बारेमा बत्ताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्