काठमाडौँ, ११ जेठ । बङ्गालको खाडीमा रहेको ‘यास’ नामक चक्रवातको प्रभाव नेपाल देखिन थालेको छ । चत्रबातको प्रभावले मंगलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको भने मौसम पूर्वानुमान महाशाखाले गरेको थियो । जसको प्रभाव सुरु भइसकेकोले महाशाखाले सबैलाई सतकर्ता अपनाउन आग्रह गरेको छ ।
उक्त चत्रवात उत्तर–उत्तर पश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली हुने मौसमविदले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको छ ।
आज अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको भई वाग्मती प्रदेश र प्रदेश–१ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशका धेरै स्थानमा बुधवारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको, प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।