निषेधाज्ञालाई थप कडाइ गरिँदै : उल्लङ्घन गरे एक वर्ष कैद हुन सक्ने


काठमाडौँ, ११ जेठ । कोरोनाको सङ्क्रमण झन् बढ्दै गए पछि निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ । निषेधाज्ञाबिच पनि सडकमा निस्कने क्रम नरोकिए पछि प्रशासनले आजदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही नीति अख्तियार गर्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश–२०७८ कडाइका साथ लागू गर्न लागेको बताएको छ । यो अध्यादेशमा निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान राखिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९ नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा कैद सजाय दुवै हुन सक्ने बताएका छन् ।

उपत्यकामा जारी रहेको निषेधाज्ञा १३ गतेबाट सकिने भए पनि कोरोनाको सङ्क्रमण झन् झन् बढ्दै गएकोले निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्